बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ स्थित काँडाचौरतर्फ गइरहेको सुपप्र०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा स्थानीय २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले जानकारी दिएका छन्।

दुर्घटनामा प्रेमबहादुर धामी, रमेश धामी (दुई जना), शारदा धामी जाग्री र रामकुमार धामी गम्भीर घाइते भएका छन्। त्यस्तै, २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन्। प्रहरीका अनुसार चालक मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। घटनास्थलमा पुग्न प्रहरीलाई करिब तीन घण्टा लाग्ने भएकाले प्रहरी टोली उद्धार तथा घटनाको थप अनुसन्धानका लागि त्यसतर्फ परिचालित भएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design