बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनमकुमारी अग्रवालले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरकारबाट आवश्यक पहल भइरहेको बताएकी छन् ।
विमानस्थल सञ्चालनका लागि सरकारले आन्तरिक तयारीसँगै कूटनीतिक तहमा समेत आवश्यक समन्वय र पहल गरिरहेको उनको भनाइ छ । शनिबार चेम्बर अफ कमर्स, रुपन्देहीले भैरहवामा आयोजना गरेको निजी क्षेत्र तथा पर्यटन व्यवसायीसँगको छलफल कार्यक्रममा बोल्दै सांसद अग्रवालले विमानस्थल सञ्चालनका विषयमा सरकार गम्भीर भएर अघि बढिरहेको दाबी गरिन् ।
उनले भनिन्, ‘सरकारले आवश्यक आन्तरिक तयारी गरिरहेको छ । जनप्रतिनिधिका रूपमा मैले पनि संसद्, मन्त्रालय र विभिन्न कूटनीतिक नियोगमार्फत निरन्तर पहल गरिरहेकी छु ।’ विमानस्थल सञ्चालनमा विगतमा देखिएका कमजोरीलाई मात्र दोष दिएर बस्नुभन्दा अब यसको प्रभावकारी सञ्चालनका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
निजी क्षेत्रलाई समेत साझा पहलका साथ अघि बढ्न आग्रह गर्दै सांसद अग्रवालले विमानस्थल सञ्चालनमा नआउँदा व्यवसायी तथा पर्यटन क्षेत्रमा परेको आर्थिक असरबारे आफू जानकार रहेको बताइन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएमा लुम्बिनी क्षेत्रको पर्यटनसँगै समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो । प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणबाट विमानस्थल सञ्चालनका विषयमा सकारात्मक परिणाम आउने विश्वाससमेत उनले व्यक्त गरिन् । आफूले संसद्मा यस विषयलाई पाँच पटकसम्म उठाइसकेको जानकारी दिँदै अग्रवालले विमानस्थल सञ्चालनलाई प्राथमिकतामा राखेर निरन्तर पहल गरिरहेको बताइन् ।
