दार्चुलामा पिकनिकका लागि गएको जिप दुर्घटना, पाँच जना घाइते

धनगढी । दार्चुलामा पिकनिकका लागि गएको यात्रु बोकेको जिप दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम र चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रबार बिहान महाकाली नगरपालिका–९ दत्तुस्थित सकार खेलमैदानमा जिप पल्टिएको हो। खलंगाबाट पिकनिकका लागि खेलमैदान पुगेको सुपप्र ०४–००१ ज ०१२२ नम्बरको जिप घुमाउने क्रममा अचानक पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला जिपमा चालकसहित नौ जना सवार थिए।

दुर्घटनामा महाकाली नगरपालिका–४ विद्ययानगरटोलकी १७ वर्षीया अनु लुहार मध्यम घाइते भएकी छन्। सोही ठाउँका १७ वर्षीया अस्मिता ओड, १५ वर्षीया अनुशा चुनारा, २१ वर्षीया संगीता चुनारा र २५ वर्षीया भुमा चुनारा सामान्य घाइते भएका छन्। घाइते पाँचै जनालाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पठाइएको प्रहरीले जनाएको छ। जिपमा रहेका अन्य चार जना भने सकुशल छन्। जिप चालक महाकाली नगरपालिका–६ पौनेखोलाका ३१ वर्षीय गणेश भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design