छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

काठमाडौँ । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले ‘खरना’ विधि पूरा गर्दैछन् । कार्तिक शुक्ल पञ्चमीका दिन व्रतालुहरू दिनभर निर्जल उपवास बसेर साँझ खीर तयार गरी चन्द्रमालाई अर्पण गरेपछि प्रसाद ग्रहण गर्ने चलन छ । यही विधिलाई ‘खरना’ भनिन्छ ।

काठमाडौँमा छठ पर्व मनाइने प्रमुख स्थलहरू गुह्येश्वरी, गौरीघाट, थापाथली, टेकु, वंशीघाट र कमलपोखरीमा पर्वको तयारीसँगै चहलपहल बढेको छ ।

छठ पूजा समिति गुह्येश्वरीका अनुसार गुह्येश्वरी–गौरीघाट क्षेत्रमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि ६७५ वटा छठ घाट निर्माण गरिएको छ । तीमध्ये ३० वटा घाट निःशुल्क उपलब्ध गराइनेछ भने अन्य घाटका लागि प्रतिघाट १ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा गुह्येश्वरी तथा गौरीघाट क्षेत्रमा वाग्मती नदी किनारको सरसफाइ, क्षेत्र व्यवस्थापनलगायतका काम सम्पन्न भइसकेका छन् । आयोजकका अनुसार छठ पर्वका लागि आवश्यक तयारी अहिले अन्तिम चरणमा पुगेको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ । यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु भएको छठ पर्वको मुख्य व्रत विधि कात्तिक ३० गते सोमबार सम्पन्न हुनेछ ।

Back To Top
Modern Footer Design