सुर्खेत । रारा ताल घुम्न जाँदै गरेका पर्यटक सवार हाइलक्स गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको पहिचान खुलेको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मृत्यु हुनेमा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन्। दुर्घटनामा ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा दुर्घटनामा परेको थियो। गाडी अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनामा गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। भिरालो भूभाग र सडकको अवस्थाका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
