काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतीय राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। त्यस अवसरमा दुवै देशबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने तथा आपसी सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको बताइएको छ।
