काठमाडौं । यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी युवराज विष्टले पाएका छन्। एयरलाइन्स व्यवस्थापनले मंगलबारदेखि लागू हुने गरी विष्टलाई नयाँ सीईओ नियुक्त गरेको हो।
सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यति एयरलाइन्समा आबद्ध भएका विष्टले १८ वर्षभन्दा लामो अनुभवपछि कम्पनीको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्। उनको नियुक्तिसँगै यसअघिका सीईओ सुवास सापकोटालाई बिदाइ गरिएको छ। ४३ वर्षीय विष्टसँग हवाई सेवा क्षेत्रको व्यावसायिक व्यवस्थापन, व्यवसाय विस्तार र संस्थागत सञ्चालनमा अनुभव छ। व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका उनले यसअघि एयरलाइन्सको प्रमुख व्यवसाय अधिकृत (सीबीओ) तथा एकाउन्टेबल म्यानेजरका रूपमा काम गरिसकेका छन्।
सीबीओको जिम्मेवारीमा रहँदा उनले कम्पनीको व्यावसायिक रणनीति, व्यवस्थापन र संगठनात्मक विकासका क्षेत्रमा काम गरेका थिए। अब सीईओका रूपमा उनले एयरलाइन्सको समग्र रणनीति, व्यावसायिक सञ्चालन तथा संस्थागत विकासको नेतृत्व गर्नेछन्। रणनीतिक व्यावसायिक योजना, कर्पोरेट व्यवस्थापन, एयरलाइन व्यवसाय विस्तार, कार्यसम्पादन व्यवस्थापन र संस्थागत सुशासन विष्टका प्रमुख विशेषज्ञताका क्षेत्र हुन्।
सन् १९९८ मा स्थापना भएको यति एयरलाइन्सले मुलुकका विभिन्न गन्तव्यमा आन्तरिक हवाई सेवा दिँदै आएको छ। कम्पनीले सुरुवाती चरणमा क्यानडामा निर्मित डीएचसी ट्विनअटर विमानबाट व्यावसायिक उडान सुरु गरेको थियो। हाल सातवटा एटीआर–७२ विमानमार्फत आन्तरिक उडान सञ्चालन गर्दै आएको छ। काठमाडौंलाई मुख्य आधार बनाएर यति एयरलाइन्सले पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र नेपालगञ्जलगायतका गन्तव्यमा नियमित उडान सेवा प्रदान गर्दै आएको छ।
