तीन कारोबार दिनपछि बढ्यो सेयर बजार, होटल तथा पर्यटन समूहमा उछाल

काठमाडौं । लगातार तीन कारोबार दिनसम्म घटेको सेयर बजार बिहीबार सामान्य अंकले उकालो लागेको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.६२ अंकले बढेर २ हजार ६२८ विन्दुमा पुगेको हो।

अघिल्लो कारोबार दिन ११ अंकले घटेको बजारमा बिहीबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ। कारोबारमा रहेका १० कम्पनीको मूल्य भने स्थिर रह्यो। बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन ४ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यस दिन ३ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ।

समूहगत रूपमा हेर्दा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढेको छ। बैंकिङ समूह ०.५४, उत्पादन तथा प्रशोधन ०.६७, फाइनान्स ०.३५ र व्यापार समूह ०.२३ प्रतिशतले उकालो लागेका छन्। यता विकास बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा तथा अन्य समूहको परिसूचक भने घटेको छ। यस दिन बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल तराईको ५.६३, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.८१, मन्दाकिनी हाइड्रोपावरको ४.४६ र बेस्ट फाइनान्सको ३.४४ प्रतिशतले मूल्य वृद्धि भएको छ।

त्यसैगरी एभरेस्ट कलरको सेयर मूल्य ५.४५ प्रतिशतले घटेको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५.४३, मुक्तिनाथ कृषि कम्पनीको ४.३२, नेपाल वेयरहाउजिङ कम्पनीको ३.६३ र बेनी हाइड्रोपावरको ३.५५ प्रतिशतले मूल्य ओरालो लागेको छ। कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक पहिलो स्थानमा रहेको छ। त्यसपछि पिपुल्स हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सोल्टी होटल, साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माइ हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र शिवम् सिमेन्ट रहेका छन्।

Back To Top
Modern Footer Design