एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’, दर्शक आक्रोशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेल हेर्न टिकट किन्न खोजेका दर्शक निराश बनेका छन्। टिकट बिक्री सुरु हुने निर्धारित समय आउनुअघि नै अनलाइन टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार दिउँसो १ बजेदेखि फाइनल खेलको टिकट बिक्री खुला गर्ने भनिएको थियो। तर, केही प्रयोगकर्ताले दिउँसो १२ बजेर ५७ मिनेटमै टिकटिङ प्लेटफर्ममा टिकट सकिएको सूचना देखिएको बताएका छन्। केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री खुल्ने समय दिउँसो १ बजे नै देखिएको थियो। तर निर्धारित समयपछि टिकट खरिद गर्न खोज्दा पनि प्रक्रिया पूरा गर्न नसकेको उनीहरूको गुनासो छ।

दिउँसो १ बजेर १ मिनेटमा समेत टिकट काट्ने प्रयास सफल नभएको भन्दै दर्शकले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन्। बिक्री सुरु हुनुअघि नै टिकट सकिएको देखिनु र बिक्री खुल्ने समय देखिएका प्रयोगकर्ताले समेत टिकट किन्न नसक्नुले टिकट व्यवस्थापनमाथि प्रश्न उठाएको छ। यसअघि पनि एनपीएलका खेलको टिकट बिक्री खुल्ने समयमा प्राविधिक समस्या देखिने र केही समयमै टिकट ‘सोल्ड आउट’ हुने गरेको भन्दै दर्शकले गुनासो गर्दै आएका थिए। फाइनल खेलको टिकट बिक्रीमा समेत उस्तै समस्या दोहोरिएपछि आयोजकको टिकट व्यवस्थापन प्रणालीप्रति दर्शकको असन्तुष्टि बढेको छ।

Back To Top
Modern Footer Design