चीन भ्रमणबाट फर्किएको रास्वपा टोली

काठमाडौँ । चीन भ्रमण सकेर स्वदेश फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी भ्रमणका क्रममा भएका गतिविधिबारे जानकारी गराएको छ।

शुक्रबार भएको भेटमा भ्रमण टोलीका तर्फबाट पार्टी महामन्त्री विपिनकुमार आचार्यले सभापति लामिछानेलाई चीन भ्रमणको उपलब्धि र त्यहाँ भएका राजनीतिक भेटवार्ताबारे जानकारी दिएका हुन्। आचार्यले चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ताका विषयमा विशेष रूपमा ब्रिफिङ गरेका थिए। त्यस्तै, केन्द्रीय तहदेखि काउन्टी तहसम्मका चिनियाँ नेताहरूसँग भएका छलफलमा दुई पार्टीबीचको सम्बन्ध विस्तार, राजनीतिक विश्वास अभिवृद्धि तथा नीतिगत र सांगठनिक अनुभव आदानप्रदानका विषय उठेको जानकारी गराएका थिए।

भेटमा सुशासन, विकास र अन्तरपार्टी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा भएका छलफलका बारेमा पनि सभापति लामिछानेलाई अवगत गराइएको थियो। यसैगरी, चीन भ्रमणका क्रममा विभिन्न उद्योग तथा व्यवसायको अवलोकन, विपद् आउनुअघि अपनाइने तयारी र विपद्पछिको व्यवस्थापन रणनीतिबारे भएका अध्ययन तथा अन्तरक्रियाका विषयमा पनि आचार्यले जानकारी दिएका थिए। भ्रमणका क्रममा नेपाल–चीनबीच द्विपक्षीय सहकार्य विस्तारका सम्भावनाबारे समेत छलफल भएको बताइएको छ।

भ्रमण टोलीको ब्रिफिङ सुनेपछि सभापति लामिछानेले चीनमा भएका उच्चस्तरीय राजनीतिक संवाद र भ्रमणका क्रममा सिकिएका अनुभवलाई पार्टीभित्र उपयोग गर्नुका साथै मुलुकको विकासमा समेत लागू गर्ने गरी अघि बढ्न टोलीलाई निर्देशन दिएका छन्। नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहरको भ्रमणमा गएको रास्वपाको २० सदस्यीय टोली बिहीबार राति स्वदेश फर्किएको थियो।

Back To Top
Modern Footer Design