काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू सरकारले ल्याएको नयाँ अध्यादेशको विरोधमा आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानको ऐन तथा नियमावली निर्माण गर्दा सरोकारवालासँग पर्याप्त छलफल नगरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्।
शुक्रबार नास्ट परिसरमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका कर्मचारीहरूले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र त्यससँग सम्बन्धित नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको आरोप लगाए। उनीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै तत्काल पदबाट राजीनामा दिनुपर्ने मागसमेत गरेका छन्।
विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले सुधारको नाममा विद्यमान संस्थालाई कमजोर बनाउने र विज्ञान क्षेत्रलाई अन्योलमा धकेल्ने प्रयास स्वीकार्य नहुने बताए। उनले नयाँ व्यवस्थाले दक्ष जनशक्तिलाई पलायन हुन बाध्य पार्ने जोखिम रहेको भन्दै आपत्ति जनाए। देशको विज्ञान तथा अनुसन्धान क्षेत्रको भविष्य निर्धारण गर्ने नीति निर्माण गर्दा वैज्ञानिक र सम्बन्धित कर्मचारीका सुझावलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। कँडेलले विवादित अध्यादेश र नियमावली तत्काल खारेज गर्नसमेत माग गरे।
आन्दोलनरत कर्मचारीहरूले अध्यादेशका नाममा भइरहेको मनोमानी रोक्नुपर्ने, प्रतिष्ठानमाथि मन्त्रालय र मन्त्रीको अनावश्यक हस्तक्षेप अन्त्य गर्नुपर्ने तथा सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति निर्माण गर्नुपर्ने माग अघि सारेका छन्। त्यस्तै, प्रतिष्ठानको नेतृत्व खुला प्रतिस्पर्धा र विज्ञापनमार्फत योग्य व्यक्तिबाट चयन गर्नुपर्ने उनीहरूको माग छ।
