काठमाडौँ । नेपाली कांग्रेसले शेरबहादुर देउवा समूहले गर्न लागेको छुट्टै महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रुख तथा चारतारे झण्डा प्रयोग गर्न नदिन निर्वाचन आयोगसँग माग गर्ने तयारी गरेको छ।
१५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भई निर्वाचन आयोगमा अद्यावधिक भइसकेको अवस्थामा देउवा समूहले पार्टीकै चुनाव चिह्न र झण्डा प्रयोग गरेर समानान्तर गतिविधि अघि बढाएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो। यस विषयमा निर्णय लिन कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरिरहेको छ। बैठकबाट औपचारिक निर्णय गराएर देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोगमा रोक लगाउन मागसहित आयोग जाने तयारी रहेको एक शीर्ष नेताले बताएका छन्।
कांग्रेसका एक पदाधिकारीका अनुसार पार्टीको महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्वले आधिकारिकता पाइसकेको अवस्थामा एउटै पार्टीका नाममा अर्को महाधिवेशन गर्न र आधिकारिक चुनाव चिह्न तथा झण्डा प्रयोग गर्न नमिल्ने पार्टीको धारणा छ। यता, देउवा पक्षले भने रुख चिह्न र चारतारे झण्डा प्रयोग गर्दै वडा, पालिका, क्षेत्रीय, जिल्ला हुँदै प्रदेश तहका अधिवेशनहरू सञ्चालन गरिरहेको छ। देउवा समूहले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
