प्रेस स्वतन्त्रतामाथि सरकारको कदमको विरोध गर्दै अमरेश सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको आलोचना गरेका छन्।

मेची–महाकाली पदयात्राका क्रममा बिहीबार जनकपुर पुगेका सांसद सिंहले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै यसको संरक्षण हुनुपर्ने बताएका हुन्। सञ्चार गृहबाटै पत्रकारलाई पक्राउ गरिएको घटनाबारे सञ्चारकर्मीहरूले जिज्ञासा राखेपछि उनले सरकारको उक्त कदमप्रति असहमति जनाएका थिए। स्वतन्त्र प्रेसबिना लोकतन्त्र बलियो र सुदृढ हुन नसक्ने उनको भनाइ थियो।

सिंहले आफू लोकतन्त्र, मानव अधिकार, कानुनी शासन र स्वतन्त्र पत्रकारिताको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले प्रेस स्वतन्त्रताको सम्मान गर्नु लोकतान्त्रिक व्यवस्थाको अनिवार्य सर्त भएको धारणा राखे। आफूले सञ्चालन गरिरहेको मेची–महाकाली पदयात्राको उद्देश्य मुलुकमा कुनै पनि प्रकारको द्वन्द्व र असहज परिस्थिति सिर्जना नहोस् भन्ने रहेको पनि उनले बताए। साथै, किसानले आफ्नो उत्पादनको उचित मूल्य समयमै पाउनुपर्ने विषयमा समेत उनले जोड दिएका छन्।

Back To Top
Modern Footer Design