काठमाडौँ । सरकारले नागरिकलाई घरमै राहदानी उपलब्ध गराउने घोषणा गरेको आठ महिना बितिसक्दा पनि त्यसको कार्यान्वयन प्रभावकारी रूपमा हुन सकेको छैन।
काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागमा अझै पनि सेवाग्राहीको भीड घट्न सकेको छैन भने सामान्य कामका लागि समेत घण्टौँ कुर्नुपर्ने अवस्था कायमै छ। बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको २७औँ बुँदामा राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायत सरकारी कागजात घरघरमै पुर्याउने योजना सार्वजनिक गरेको थियो।तर, सरकार गठन भएको आठ महिना बितिसक्दा पनि उक्त योजना व्यवहारमा लागू भएको अनुभूति सेवाग्राहीले गर्न पाएका छैनन्।
बिहीबार राहदानी विभागमा सेवा लिन पुगेका एक सेवाग्राहीले कार्यालयको सेवा प्रवाहप्रति असन्तुष्टि जनाएका छन्। उनका अनुसार विभागमा टोकन प्रणालीको व्यवस्था छैन, कागजातको अवस्थाबारे जानकारी पाउन मुस्किल छ र डिजिटल सूचना प्रणालीसमेत प्रभावकारी छैन। आफूले बुझाएका कागजात कहाँ पुगे भन्ने जानकारीसमेत नपाइने र कर्मचारीसँग केही बुझ्न खोज्दा रुखो व्यवहार सहनुपर्ने अवस्था रहेको उनले गुनासो गरे।
हजारौँ रुपैयाँ शुल्क तिरेर पनि सहज र गुणस्तरीय सेवा पाउन नसक्नु दुःखद भएको उनको भनाइ छ। तिहारअघि नै कागजात बुझाउँदा पनि एउटा राहदानीको बुकलेट लिन तीनदेखि चार दिनसम्म खर्चिनुपरेको उनले बताए। सेवाग्राहीले राहदानी विभागको सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउन नजिकै रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सेवा व्यवस्थापनबाट समेत सिक्नुपर्ने सुझाव दिएका छन्। सरकारको घरघरमै सरकारी कागजात पुर्याउने घोषणा र नागरिकले सरकारी कार्यालयमा भोगिरहेको सास्तीबीचको अन्तरले सेवा सुधारको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।
