उरुग्वे र साउदी अरबबीच १–१ को बराबरी

अमेरिका। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबले अंक बाँडेका छन्। अमेरिकाको फ्लोरिडामा रहेको मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिस्पर्धा १–१ को बराबरीमा टुंगिएको हो।

पहिलो हाफको ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदी अरबलाई अग्रता दिलाएका थिए। अग्रता जोगाउने प्रयासमा रहेको साउदीविरुद्ध उरुग्वेले खेलभर दबाब बनाएको थियो। खेलको ८०औँ मिनेटमा म्याक्सी अराजोले गोल गर्दै उरुग्वेलाई बराबरीमा फर्काए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा खेल बराबरीमै सकियो।

बल नियन्त्रणमा उरुग्वे हावी देखिएको थियो। उरुग्वेले ११ पटक लक्ष्यतर्फ प्रहार गर्दा साउदी अरबले ३ पटक मात्रै सट अन टार्गेट गरेको थियो। यस नतिजासँगै समूह ‘एच’ का चारै टोलीले पहिलो खेलपछि समान १–१ अंक बटुलेका छन्। यसअघि सोही समूहको अर्को खेलमा स्पेन र केप भर्डे पनि १–१ को बराबरीमा रोकिएका थिए। यता, आज भएको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेले। प्रतियोगिताअन्तर्गत आजको तेस्रो खेलमा इरान र न्यूजिल्यान्ड आमनेसामने हुनेछन्, जुन बिहान ६स्४५ बजे सुरु हुने तालिका छ।

Back To Top
Modern Footer Design