काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध फैलाइएका गालीगलौज, धम्की, चरित्रहत्या तथा घृणायुक्त अभिव्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेकी छन्।
उनका अनुसार संसदमा उठाइएका जनसरोकारका विषयलाई लिएर पछिल्ला केही सातादेखि सामाजिक सञ्जालमा आफूविरुद्ध योजनाबद्ध रूपमा आक्रमण भइरहेको थियो। उनले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत अपमानजनक टिप्पणी, चरित्रहत्या, हिंसाको उक्साहट तथा व्यक्तिगत धम्कीहरू आएको बताएकी छन्।सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले आफ्नो मोबाइल फोन र म्यासेन्जरमा समेत बलात्कार तथा ज्यान मार्ने धम्कीसहितका सन्देश प्राप्त भएको उल्लेख गरेकी छन्। यही कारण आफूले साइबर ब्युरोमा उजुरी दिएको र त्यसपछि एक जना व्यक्ति पक्राउ परेर कानुनी प्रक्रियामा गएको जानकारी दिएकी छन्। उनले लोकतान्त्रिक व्यवस्थामा आलोचना र असहमति स्वाभाविक भए पनि धम्की, घृणा, हिंसात्मक अभिव्यक्ति र सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहार स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।
टिकटक, फेसबुक, युट्युब लगायतका माध्यममा घृणा फैलाउने, अपमानजनक सामग्री प्रकाशन वा साझेदारी गर्नेहरूलाई सचेत गराउँदै उनले यस्ता सामग्री तत्काल हटाउन आग्रह गरेकी छन्। अन्यथा कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी पनि दिएकी छन्। ओलीले सामाजिक सञ्जालमा हुने घृणायुक्त व्यवहार र धम्कीका कारण धेरै नागरिक, विशेषगरी महिला तथा पुरुष दुवै, मानसिक दबाबमा बाँच्न बाध्य भएको उल्लेख गर्दै यस्ता गतिविधिलाई सामान्य रूपमा लिन नहुने बताएकी छन्। अभिव्यक्ति स्वतन्त्रताको नाममा घृणा, हिंसाको उक्साहट र दुर्व्यवहारलाई स्वीकार गर्न नसकिने उनको भनाइ छ। सामाजिक सञ्जाललाई सभ्य, सुरक्षित र जिम्मेवार बनाउन कानुनी प्रक्रियाको प्रयोग आवश्यक रहेको उल्लेख गर्दै उनले यस विषयमा चासो र सहयोग गरेकोमा गृहमन्त्री तथा नेपाल प्रहरीको साइबर ब्युरोलाई धन्यवादसमेत व्यक्त गरेकी छन्। यसअघि प्रतिनिधिसभाको बैठकका क्रममा गृहमन्त्री सुधन गुरुङले खुश्वु ओलीसँग भेट गरी सामाजिक सञ्जालमार्फत आएका धम्कीबारे जानकारी लिएका थिए। ओलीका अनुसार गृहमन्त्रीले दोषीमाथि आवश्यक कारबाही गरिने आश्वासन दिएका थिए।