काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले छोटो समयमै रास्वपाले उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति बनाएको बताएका छन्। उनले पार्टी निर्माणदेखि निर्वाचनसम्मको यात्रालाई प्रशंसनीय भन्दै नेतृत्व तथा कार्यकर्ताको प्रयासको सराहना गरेका छन्।
थापाले प्रथम राष्ट्रिय महाधिवेशन रास्वपाका लागि संगठनात्मक सुदृढीकरण, वैचारिक स्पष्टता र नीतिगत परिपक्वता हासिल गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरेका छन्। उनका अनुसार महाधिवेशनले पार्टीलाई अझ जिम्मेवार, उत्तरदायी र दूरदर्शी राजनीतिक शक्तिका रूपमा विकास गर्न नयाँ ऊर्जा प्रदान गर्नेछ। साथै उनले लोकतान्त्रिक मूल्य, संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण र सुशासनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै अगाडि बढ्न महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरेका छन्।
