काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्माले सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियामार्फत फिर्ता पाउने भन्ने विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा सहकारी ऐन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा सहभागी हुँदै उनले विधेयकले निर्दोष बचतकर्ताको हितलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
सांसद शर्माले बाग्लुङस्थित इमेज सहकारीमा बचतकर्ताको दुई अर्ब रुपैयाँभन्दा बढी रकम रहेको उल्लेख गर्दै त्यसको ठूलो हिस्सा सम्बन्धित सम्पत्तिबाट भुक्तानी गर्ने आधारसहित तमसुकसमेत भइसकेको बताए। उनका अनुसार करिब ८० प्रतिशत बचतकर्ताको रकम फिर्ता गर्ने आधार तयार भए पनि सम्पत्ति रोक्का रहेकाले उनीहरू अन्योलमा परेका छन्। उनले इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा हाल बाग्लुङ जिल्ला कारागारमा रहेकाले बचतकर्तामा आफ्नो रकम कहिले र कसरी फिर्ता हुन्छ भन्ने जिज्ञासा बढेको बताए।
शर्माले सहकारी ऐन (पहिलो संशोधन) विधेयकमा इमेज सहकारीजस्ता घटनाबाट प्रभावित बचतकर्ताले अदालतको प्रक्रियाले अनावश्यक रूपमा असर नपर्ने गरी रोक्का रहेको सम्पत्तिबाट बचत रकम फिर्ता पाउने स्पष्ट कानुनी व्यवस्था गरिएको छ वा छैन भन्ने विषयमा सरकारले प्रस्ट पार्नुपर्ने माग गरे। उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसँग विधेयकले यस्तो अवस्थाका बचतकर्ताको रकम फिर्तालाई कानुनी रूपमा सुनिश्चित गरेको भए त्यसबारे सदनलाई स्पष्ट जानकारी गराउन आग्रह गरे।
