काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीमापार हुने अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य, सूचना आदान–प्रदान र विभिन्न देशका प्रहरी संगठनबीचको साझेदारीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन ९यूएनसीओपीएस० मा नेपालको प्रतिनिधित्व गरी स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा विश्वभरका प्रहरी संगठनबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य विस्तार, प्रविधिको उपयोग, प्रहरी जनशक्तिको क्षमता विकास तथा अन्तरदेशीय अपराध नियन्त्रणका उपायबारे विस्तृत छलफल भएको जानकारी दिएका हुन्।
आईजीपी कार्कीले नेपालसहित विभिन्न मुलुकले अन्तर्राष्ट्रिय समन्वयको आवश्यकता समान रूपमा महसुस गरिरहेको उल्लेख गर्दै सूचना आदान–प्रदान, आधुनिक प्रविधिको प्रयोग, अनुसन्धान क्षमता अभिवृद्धि तथा अन्तरदेशीय अपराध नियन्त्रणमा साझा प्रयासलाई थप मजबुत बनाउने विषयमा सम्मेलन केन्द्रित रहेको बताए। उनले नेपालले जिम्मेवार साझेदारका रूपमा अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै आधुनिक अनुसन्धान प्रणालीको विकास, समुदाय–प्रहरी साझेदारी सुदृढीकरण र अन्तर्राष्ट्रिय निकायसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि दोहोर्याएको जानकारी दिए।
कार्कीका अनुसार उक्त सम्मेलन नेपाल प्रहरीका लागि विश्वस्तरीय अभ्यासबाट सिक्ने, अनुभव आदान–प्रदान गर्ने तथा आगामी सहकार्यका नयाँ सम्भावना खोज्ने महत्वपूर्ण अवसर बनेको छ। सम्मेलनबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपालको सार्वजनिक सुरक्षा, शान्ति र अमनचयन थप प्रभावकारी बनाउन उपयोग गरिने उनले बताए। त्यसैगरी, उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता विस्तार गर्ने विषयमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा समेत छलफल भएको जानकारी दिए।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल (एफपीयू)ले लेभल–३ हासिल गरिसकेको छ भने नेपाल प्रहरी हाल लेभल–२ मा रहेको छ। आवश्यक स्रोत–साधनको व्यवस्था गर्न सके नेपाल प्रहरी पनि निकट भविष्यमा लेभल–३ मा स्तरोन्नति हुन सक्ने उनले विश्वास व्यक्त गरे। आईजीपी कार्कीले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको संयुक्त राष्ट्रसंघका शान्ति मिसनमा सहभागिता थप विस्तार गर्ने विषयलाई नेपालले प्राथमिकताका साथ अघि बढाइरहेको समेत बताएका छन्।
