राजविराज कारागारमा कैदीबन्दीको आन्दोलन, पाँच जनाले आत्मदाहको प्रयास

काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा कैदीबन्दीले जेलर रूपक मण्डलको सरुवा र आफूहरूमाथि उठेका गुनासोको निष्पक्ष छानबिनको माग गर्दै तीन दिनदेखि आन्दोलन जारी राखेका छन्। आन्दोलन शनिबार थप चर्किएपछि कारागारभित्र केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

आन्दोलनका क्रममा पाँच जना कैदीबन्दीले शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन हस्तक्षेप गर्ने प्रयास गरेपछि तनाव अझ बढेको भए पनि पछि वार्ता र सम्झाइबुझाइका माध्यमबाट अवस्था सामान्य बनाइएको बताइएको छ। घटनामा थप मानवीय क्षति भने भएको छैन।

कैदीबन्दीहरूले चौकीदार नियुक्तिमा ठूलो आर्थिक अनियमितता भएको आरोप लगाउँदै त्यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उनीहरूको मुख्य माग जेलर रूपक मण्डलको सरुवा र आरोपबारे निष्पक्ष अनुसन्धान रहेको छ।

यता जेलर मण्डलले आफूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गर्दै आवश्यक छानबिन भए त्यसमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्। हाल कारागारको अवस्था सामान्य रहेको जनाइएको छ।

Back To Top
Modern Footer Design