फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा तेस्रो स्थान कब्जा गर्‍यो

अमेरिका ।फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६–४ गोलअन्तरले हराउँदै इंग्ल्यान्डले प्रतियोगिताको तेस्रो स्थान सुरक्षित गरेको छ।

आइतबार बिहान मियामी स्टेडियममा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले आक्रामक खेल प्रदर्शन गर्दै प्रभावशाली जित निकालेको हो। इंग्ल्यान्डको जितमा बुकायो शाका नायक बने। उनले दुई गोल पहिलो हाफमा र अर्को गोल ८७औँ मिनेटमा पेनाल्टीमार्फत गर्दै ह्याट्रिक पूरा गरे। खेलको तेस्रो मिनेटमै डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि १८औँ मिनेटमा कोन्शाले हेडरमार्फत गोल थपे। पहिलो हाफको ३७औँ मिनेट र इन्जुरी समयमा शाकाले थप दुई गोल गरेपछि इंग्ल्यान्डले विश्रामसम्म ४–० को बलियो अग्रता बनाएको थियो।

दोस्रो हाफमा भने फ्रान्सले उत्कृष्ट पुनरागमन गर्ने प्रयास गर्‍यो। ४८औँ मिनेटमा कप्तान किलियन एमबाप्पेले पहिलो गोल फर्काए भने ५४औँ मिनेटमा ब्राडली बारकोलाले अर्को गोल गरे। ६६औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थासम्म पुर्‍याए। तर ८७औँ मिनेटमा प्राप्त पेनाल्टीलाई शाकाले सदुपयोग गर्दै इंग्ल्यान्डको अग्रता पुनः फराकिलो बनाए। इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि अर्को गोल फर्काए पनि त्यसको केहीबेरपछि जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को जित सुनिश्चित गरे। सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्डका लागि यो त्यसयताकै उत्कृष्ट नतिजा हो। यसअघि इंग्ल्यान्डले सन् २०१८ को विश्वकपमा चौथो स्थान हासिल गरेको थियो।

Back To Top
Modern Footer Design