कोशीदेखि कर्णालीसम्मका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज (बिहीबार) कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानमै रहेको छ। अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज राति पनि पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। भारी वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरिएको छ।

Back To Top
Modern Footer Design