काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन्। मन्त्रालयका अनुसार शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा कन्सल्टेन्सी क्षेत्रको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या, सेवा प्रवाहमा सुधार, गुणस्तरीय शैक्षिक परामर्शको प्रवर्द्धन तथा आवश्यक नीतिगत र नियामकीय व्यवस्थाबारे विस्तृत विमर्श गरिनेछ।
छलफलमा नेपाल शैक्षिक परामर्श संघ इक्यान, स्वतन्त्र शैक्षिक परामर्श संघ फेकन, सक्रिय शैक्षिक परामर्श संघ एइक्यान, शैक्षिक परामर्श व्यवसायी संस्था एरी, जापानिज भाषा स्कुल संघ जालसान, नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ नायर, नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन नेका, एक्यान, नेवा र नेक्सालगायतका संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहने मन्त्रालयले जनाएको छ।
त्यसैगरी, ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’का व्यवस्थाबारे समेत छलफल हुने तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा आवश्यक नीतिगत सुधारका विषयमा विचार गरिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले शिक्षामन्त्री पोखरेलले पछिल्लो समय शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला, शैक्षिक संस्था तथा निजी क्षेत्रसँग निरन्तर संवाद गर्दै उनीहरूका सुझावका आधारमा नीतिगत सुधार र आवश्यक समन्वयलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
