काठमाडौँ । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालय परिसरबाटै रंगेहात नियन्त्रणमा लिएको हो।
प्रारम्भिक जानकारीअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८–७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले करसम्बन्धी प्रक्रिया मिलाइदिने भन्दै घुस मागेको आरोप छ। सुरुमा उनले माथिल्लो तहका कर्मचारीलाई समेत मिलाउनुपर्ने भन्दै बढी रकम मागेका थिए। कर परीक्षणका क्रममा कम्पनीमाथि कर, जरिवाना र अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व देखाइएको थियो।
थप कागजातको परीक्षणपछि कर दायित्व अझ बढ्न सक्ने बताइएपछि पालले १२ लाख रुपैयाँ दिए समस्या समाधान गरिदिने प्रस्ताव राखेको आरोप छ। पछि दुवै पक्षबीच ५ लाख रुपैयाँमा सहमति भएको बताइएको छ। योजनाअनुसार कम्पनीका प्रतिनिधिले कार्यालयमै ५ लाख रुपैयाँ बुझाउने क्रममा अख्तियारको टोलीले कर अधिकृत पाललाई रंगेहात पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
