गण्डकी, लुम्बिनी र कर्णालीका केही क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि सक्रिय रहने जनाएको छ। विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको हो।

विभागका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ औसतभन्दा केही उत्तर र पूर्वी क्षेत्रमा सामान्य अवस्थामै रहेकाले अधिकांश स्थानमा बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि मौसम सामान्यतया बदली रहने अनुमान गरिएको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान, कोशी र मधेसका केही भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने विभागको भनाइ छ। विभागले आगामी २४ घण्टामा केही क्षेत्रमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुन सक्ने जनाएको छ, जसलाई भारी वर्षाका रूपमा लिइन्छ। यसका कारण पहिरो, बाढी, भू–क्षय, गेग्रान बहाव तथा सडक, हवाई यातायात, कृषि र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनालाई नियमित रूपमा पछ्याउन विभागले आग्रह गरेको छ।

Back To Top
Modern Footer Design