काठमाडौँ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका अवसरमा मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यस दिन घर–घरमा एक महिनाअघि रोपिएको तुलसीको बिरुवा तुलसी मोठमा सार्ने परम्परा रहेको छ।
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म चार महिनासम्म तुलसीको विशेष पूजा–आराधना गरिन्छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा। डा। देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। विष्णुको शयनकालका यी चार महिनालाई ‘चतुर्मास’ पनि भन्ने गरिन्छ।
वर्षभर २४ वटा एकादशी पर्ने भए पनि सबैमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मास अवधिमा पर्ने आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीका दिन विशेष व्रत बस्ने चलन छ। यस दिन फलाहार गर्ने तथा चामलबाट बनेका परिकार नखाने धार्मिक परम्परा रहेको छ। हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको उल्लेख्य भीड लाग्ने गर्दछ।
धार्मिक महत्वसँगै तुलसीलाई वैज्ञानिक दृष्टिले पनि उपयोगी वनस्पतिका रूपमा हेरिन्छ। यसले वातावरण शुद्ध बनाउन सहयोग गर्ने, अक्सिजनको मात्रा बढाउने तथा विभिन्न रोगमा औषधीय गुण प्रदान गर्ने विश्वास र अध्ययनहरू रहेका छन्। तुलसी भएको स्थानमा सकारात्मक वातावरण रहने र रोग सार्ने कीटाणुको प्रभाव कम हुने जनविश्वास पनि प्रचलित छ। चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक परम्पराअनुसार विवाह गराइन्छ। सोही अवसरमा चतुर्मास व्रतको समापन गर्दै हवनलगायत धार्मिक अनुष्ठान सम्पन्न गर्ने परम्परा रहेको छ।
