बाँके । भोटेकोशी बाढीमा गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा यस वर्ष तीजको खुसी हराएको छ। हरेक वर्ष तीजमा नाचगान र रमझमले भरिने गाउँ अहिले शोक र पर्खाइमा छ।
भदौ १० गते आएको भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता बनाएपछि धेरै परिवारको दैनिकी नै बदलिएको छ। रसुवा भन्सार कार्यालय टिमुरेमा काम गर्दै आएका ५३ वर्षीय शेरसिंह रोकाय, उनकी श्रीमती ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शनका लागि पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीपछि सम्पर्कविहीन छन्।
एकै परिवारका तीन सदस्य बेपत्ता भएपछि अनलाल रोकायको परिवार गहिरो पीडामा छ। बुढेसकालको सहारा बनेका छोरा र परिवारका सदस्य फर्किने आशामा आफन्तहरू दिनहुँ बाटो हेरिरहेका छन्। त्यस्तै, रोजगारीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि बाढीपछि बेपत्ता छन्। उनीहरूका १६ वर्षीय छोरा सुभाष नेपाली, ११ वर्षीय अश्विन र ९ वर्षीया स्मारिका अहिले अभिभावक फर्किने आशामा छन्। चाडपर्वको समयमा पनि बालबालिकाको अनुहारमा खुसीभन्दा चिन्ता र निराशा देखिन्छ।
स्थानीयवासी टेकराज जैसीका अनुसार गाउँमा पाँच जना बेपत्ता भएपछि यसपटक कसैमा पनि तीज मनाउने उत्साह छैन। उनका अनुसार गाउँलेले तडकभडक र रमझमभन्दा पीडित परिवारसँगै रहेर दुःख बाँड्ने प्रयास गरिरहेका छन्। नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताहरूको खोजीलाई निरन्तरता दिन सम्बन्धित निकायसँग समन्वय गरिने बताए। उनले सहाराविहीन बनेका बालबालिकाको पालनपोषण र शिक्षाका लागि आवश्यक सहयोग जुटाउने प्रतिबद्धता पनि जनाएका छन्। यस वर्ष थपुवागाउँमा तीजका गीत र मादलका ताल सुनिएका छैनन्। गाउँलेहरू बेपत्ता भएका आफन्त सकुशल फर्किने आशामा प्रार्थना गर्दै छन्।
