काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित तथा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल थालेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग छलफल भइरहेको हो। बैठकमा बाढीपछि प्रभावित क्षेत्रमा देखिएको अवस्था, तत्कालका समस्या, अब चाल्नुपर्ने कदम तथा पुनःस्थापना र पुनरुत्थानका योजनाबारे समीक्षा भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा नुवाकोटबाट प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिना र अच्युतम लामिछानेसहित विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढीका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन्।
त्यस्तै, रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सहभागी छन्। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत छलफलमा जोडिएका छन्। धादिङबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेकका अध्यक्ष परशुराम खतिवडा, गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया सहभागी छन्। तनहुँका देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना पनि छलफलमा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
