आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला

काठमाडौं । हिन्दू धर्मावलम्बी महिलाहरूले आज हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल तृतीया तिथिमा मनाइने तीजमा शिव–पार्वतीको पूजा–आराधना गर्दै सुख, शान्ति र पारिवारिक कल्याणको कामना गर्ने धार्मिक परम्परा छ।

धार्मिक मान्यताअनुसार विवाहित महिलाहरू पतिको दीर्घायु तथा सुख–समृद्धिको कामना गर्दै व्रत बस्छन् भने अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्तिको कामना गर्ने चलन छ। शास्त्रीय रूपमा भने महिला र पुरुष दुवैले यो व्रत गर्न सक्ने उल्लेख पाइन्छ। महर्षि आपस्तम्बका अनुसार चतुर्थीसहित परेको तृतीया तिथि हरितालिका व्रतका लागि शुभ मानिन्छ। तर द्वितीयासँग जोडिएको तिथिमा भने यो व्रत गर्न नहुने धार्मिक मान्यता रहेको छ।

पार्वतीको तपस्यासँग जोडिएको कथा

हरितालिका तीजको पौराणिक कथा भगवान् शिव र पार्वतीसँग जोडिएको छ। कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउने इच्छा राखेर कठोर तपस्या गरेकी थिइन्। पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिने तयारी गरेपछि पार्वतीले आफ्ना सखीहरूसँग समस्या सुनाइन्। त्यसपछि सखीहरूले उनलाई त्यहाँबाट लुकाएर कसैले नदेख्ने स्थानमा लगे।

त्यही स्थानमा पार्वतीले निराहार व्रत बसेर महादेवको आराधना गरिन्। उनको तपस्याबाट प्रसन्न भएर महादेवले उनलाई पत्नीका रूपमा स्वीकार गरेको धार्मिक कथा छ। सखीहरूले पार्वतीलाई हरण गरेर लुकाएकाले ‘हरितालिका’ नाम रहन गएको मानिन्छ। संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्द मिलेर ‘हरितालिका’ बनेको हो। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी वा सखी भन्ने हुन्छ।

व्रतसँगै नाचगान र गीतको परम्परा

तीजका अवसरमा महिलाहरू भेला भएर पूजा–आराधनासँगै नाचगान गर्ने परम्परा छ। तीजका गीतमा धार्मिक भावनासँगै महिलाका अनुभव, भावना, दुःख–पीडा र सामाजिक विषयसमेत अभिव्यक्त हुँदै आएका छन्। धार्मिक विश्वासअनुसार भाद्र शुक्ल तृतीयाका दिन शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

स्वास्थ्यअनुसार व्रत बस्न सकिने

हरितालिकाको व्रत निराहार, जलाहार वा फलाहार गरी तीन तरिकाले बस्न सकिने धार्मिक ग्रन्थहरूमा उल्लेख छ। स्वास्थ्य कमजोर भएका वा निराहार बस्न नसक्ने व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार जल, फलफूल, दूध, सखरखण्ड, पिँडालु, तरुललगायतका वस्तु सेवन गर्न सक्ने बताइएको छ। शास्त्रमा पनि आफ्नो शरीर र स्वास्थ्यको रक्षा गर्नुपर्ने मान्यता रहेको उल्लेख गर्दै स्वास्थ्यमा समस्या हुनेले जबर्जस्ती निराहार व्रत बस्न नहुने धार्मिक जानकारहरू बताउँछन्। स्कन्द पुराणमा औषधि सेवन गर्दा व्रत भङ्ग नहुने उल्लेख छ। एकादशी र तीजको व्रतमा अन्न सेवन नगर्ने परम्परा भए पनि फलफूल, दूध र पानी ग्रहण गर्न सकिने धार्मिक मान्यता छ।

Back To Top
Modern Footer Design