नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्समा सहभागी सबै देशका आवाज र अनुभवलाई महत्व दिइने बताएका छन्।
भारतको अध्यक्षतामा नयाँदिल्लीमा भइरहेको ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले ब्रिक्सको शक्ति विविधता र आपसी सहकार्यमा रहेको बताए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा सम्बोधन गरेका मोदीले भारतको ब्रिक्स अध्यक्षता सहनशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपनलाई मुख्य आधार बनाएर अघि बढिरहेको बताए। उनले ब्रिक्सको सहकार्य सरकारहरूबीच मात्र सीमित हुन नहुनेमा जोड दिए। उद्यमी, किसान, अनुसन्धानकर्ता, महिला, युवा तथा सर्वसाधारण नागरिकलाई समेत ब्रिक्सको सहकार्यमा सक्रिय सहभागी बनाउनुपर्ने उनको भनाइ थियो।
मोदीले ब्रिक्समार्फत समावेशी विश्वव्यापी विकासलाई अघि बढाउने प्रयास भइरहेको बताए। ब्रिक्सभित्र तयार हुने समाधान ब्रिक्स सदस्य राष्ट्रमा मात्र सीमित नभई ग्लोबल साउथ अर्थात् विकासशील देशहरूको आवश्यकता अनुसार उपयोगी र पहुँचयोग्य हुनुपर्ने उनले बताए। उनका अनुसार ब्रिक्सप्रति ग्लोबल साउथका देशहरूको विश्वास बढ्नुको मुख्य कारण उनीहरूको आवाज सुनिनु, अनुभवलाई सम्मान गरिनु र उनीहरूका लागि मात्र होइन, उनीहरूसँगै मिलेर समाधान खोजिनु हो। मोदीले ब्रिक्सको वास्तविक शक्ति विविधता र सहकार्यमा रहेको उल्लेख गर्दै फरक–फरक वास्तविकताबाट आएका देशहरू पनि सहकार्यका माध्यमबाट साझा प्रगति र मानव कल्याणतर्फ अघि बढ्न सक्ने बताए।
