हेटौँडा ।मकवानपुर प्रहरीले अनलाइन ठगीको आरोपमा तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जना भारतीय नागरिक र एक जना हेटौँडास्थित होटल सञ्चालक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाको संयुक्त टोलीले भारतको पटना घर भएका २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार तथा हेटौँडा उपमहानगरपालिका–१० मा रहेको बाँस्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोला लाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरूले आपसी मिलेमतोमा विभिन्न व्यक्तिलाई आकर्षक प्रलोभन देखाउँदै अनलाइन माध्यमबाट ठगी गर्दै आएको भन्ने सूचनाका आधारमा हेटौँडा–१० स्थित बाँस्तोला होटलमा छापा मारिएको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले प्रयोग गरेका मोबाइल फोनमा टेलिग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत विभिन्न ग्रुप सञ्चालन गरी ठगीसँग सम्बन्धित आर्थिक कारोबार गरेको प्रारम्भिक प्रमाण फेला परेको प्रहरीले जनाएको छ। घटनापछि चारै जनाविरुद्ध अनलाइन ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
