मनसुनी वायु सक्रिय: आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा औसत स्थानको आसपास र पश्चिमी भागमा औसतभन्दा केही उत्तरतर्फ अवस्थित छ।

अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भएको छ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमतीका केही स्थानका साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाको पूर्वानुमानअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ भने पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै कोशी र सुदूरपश्चिमका तराई क्षेत्र, मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनीका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।

यसका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। त्यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।

Back To Top
Modern Footer Design