काठमाडौंमा शनिबार ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री

काठमाडौं । ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले शनिबार काठमाडौंका विभिन्न बिक्री केन्द्रबाट ६ हजार ८०२ वटा खाना पकाउने ग्यास सिलिन्डर वितरण गरेको छ।

नेपाल आयल निगमले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गरी ग्यास बिक्री गरेको हो। ग्यासका लागि उपभोक्ताहरू बिहानैदेखि बिक्री केन्द्रमा लामो लाइनमा बसेका थिए। निगमका अनुसार टेकुस्थित निगम परिसरबाट सबैभन्दा धेरै २ हजार २९० सिलिन्डर बिक्री भएको छ। त्यस्तै, पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६००, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट ७२० र बसुन्धराको राधास्वामी केन्द्रबाट ६०० सिलिन्डर वितरण गरिएको छ।

यी मुख्य पाँच केन्द्रबाट मात्रै ५ हजार ९७२ सिलिन्डर बिक्री भएका छन्। यसबाहेक बालाजु काउन्टरबाट ५०० तथा साल्ट ट्रेडिङका जडिबुटी र कालीमाटी काउन्टरबाट ३३० सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ। ब्रान्डअनुसार नेपाल ग्यासको बिक्री सबैभन्दा बढी १ हजार ७६० सिलिन्डर रहेको छ। त्यसपछि एभरेस्ट/सुगम १ हजार ४३, एचपी ७८०, हिमाल ५४०, सगर ४६४ र श्रीराम ३२७ सिलिन्डर बिक्री भएका छन्। सरकारले ठूलो संख्यामा ग्यास बिक्री गरेको तथ्यांक सार्वजनिक गरे पनि बिक्री केन्द्रमा पुगेका सबै उपभोक्ताले ग्यास पाउन सकेनन्। कतिपय उपभोक्ताले लामो समय लाइनमा बसेर पनि ग्यास नपाई रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन्।

Back To Top
Modern Footer Design