काठमाडौं । बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले ३ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा प्रहरीको भूमिका गम्भीर रूपमा छानबिन गर्नुपर्ने बताए। उनका अनुसार बालिका हराएको जानकारी गराएको २४ घण्टासम्म पनि इलाका प्रहरी कार्यालय सिमराबाट प्रभावकारी खोजी तथा आवश्यक कारबाही अघि नबढाइएको देखिएको छ।
सांसद अन्सारीले घटना दर्ता भएपछि प्रहरीले प्रत्येक घण्टा गरेका काम तथा खोजीका प्रयास समेटिएको ‘एक्सन लग’ सार्वजनिक गर्न माग गरे। उनले घटनामा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि समेत छानबिन गरी कारबाही गर्नुपर्ने बताए। सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा यस्ता जघन्य अपराध न्यूनीकरणका लागि गृह मन्त्रालयले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा पनि उनले जोड दिए।
अन्य सांसदहरूले समेत घटनाका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै कडा कानुनी कारबाहीको माग गरेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सिमरामा मृत अवस्थामा फेला परेकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ। जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी ३ वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको प्रहरीले जनाएको छ। घटनापछि बालिकाको हत्या र प्रहरीको अनुसन्धान प्रक्रियाबारे गम्भीर प्रश्न उठेको भन्दै सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
