हरिसिद्धिमा मृत भेटिएका चमरबहादुर नेपालीको शव परिवारले बुझे

काठमाडौँ । ललितपुर महानगरपालिका–२९ हरिसिद्धिमा मृत भेटिएका खोटाङका ५० वर्षीय चमरबहादुर नेपालीको शव परिवारले बुझेका छन्।

भदौ २ गते साँझ हरिसिद्धिस्थित आफू बस्दै आएको टहरामा उनी मृत अवस्थामा फेला परेका थिए। घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको थियो। पोस्टमार्टमपछि परिवारले शव बुझेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।

नेपाली पछिल्लो दुई महिनादेखि हरिसिद्धिमा जग्गा भाडामा लिएर टहरा बनाई बस्दै आएका थिए। उनकी पत्नी भने सिनामंगलमा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार उनका दुई पत्नी रहेको र केही समययता उनले छिमेकीहरूसँग आफू तनावमा रहेको बताउने गरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design