चन्द्र नहरलाई सिँचाइसँगै ऐतिहासिक सम्पदाका रूपमा विकास गर्नुपर्छ : मन्त्री श्रेष्ठ

सप्तरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादनका लागि महत्वपूर्ण सिँचाइ संरचनाका रूपमा मात्रै नभई नेपालको सिँचाइ इतिहास बोकेको ऐतिहासिक सम्पदाका रूपमा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीको निरीक्षणका क्रममा फत्तेपुर पुगेका मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि, सिँचाइ उपभोक्ता तथा सरोकारवालासँगको छलफलमा चन्द्र नहरलाई आधुनिक सिँचाइ प्रणालीको ऐतिहासिक नमुनाका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले चन्द्र नहरलाई कृषि उत्पादन, संरक्षण र पर्यटनसँग जोडेर अघि बढाउन सकिने बताए । नहरको सुरक्षा, नियमित मर्मतसम्भार तथा पुनरुद्धारका लागि स्थानीय तहसँग समन्वय गरी आवश्यक योजना बनाउन मन्त्रालय तयार रहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले नहरको दीर्घकालीन संरक्षण सरकारको मात्रै दायित्व नभई स्थानीय तह, सिँचाइ उपभोक्ता र समुदायको पनि साझा जिम्मेवारी भएको बताए । उनले भने, ‘सिँचाइ पूर्वाधारले खेतबारीमा पानी पुर्‍याउने मात्र होइन, कृषि उत्पादन, स्थानीय अर्थतन्त्र, रोजगारी र पर्यटनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।’ चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भएको चन्द्र नहरलाई नेपालको पहिलो आधुनिक राज्यनिर्मित सिँचाइ प्रणालीका रूपमा चिनिन्छ । त्रियुगा नदीबाट पानी ल्याएर सप्तरीका करिब १० हजार ५०० हेक्टर कृषि भूमिमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको यो संरचना करिब एक शताब्दी पुरानो हो ।

मन्त्री श्रेष्ठले दशकौँ पुरानो संरचनाले अहिले पनि किसानका खेतमा पानी पुर्‍याइरहनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसको ऐतिहासिक तथा प्राविधिक महत्व नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने बताए । चन्द्र नहरलाई अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोगको सूचीमा समावेश गर्न सिफारिस गर्ने विषयमा समेत मन्त्रालयले काम अघि बढाइरहेको उनले जानकारी दिए । उनले नेपालको पुरानो र गौरवपूर्ण सिँचाइ इतिहासको संरक्षण गर्दै यसको महत्व अन्तर्राष्ट्रियस्तरमा चिनाउने र आवश्यकताअनुसार आधुनिक बनाउने जिम्मेवारी वर्तमान पुस्ताको रहेको बताए ।

चन्द्र नहरको जीर्ण संरचना सुधारका लागि जापान सरकारको अनुदान सहयोगमा पूर्वी तराई क्षेत्र सिँचाइ प्रणाली जीर्णोद्धार आयोजना सञ्चालन गरिएको थियो । करिब २.२५६ अर्ब जापानी येन अनुदानमा सम्पन्न उक्त आयोजनाअन्तर्गत नहर प्रणालीका ३२ वटा संरचना मर्मत तथा पुनर्निर्माण गरिएको छ । आयोजनामार्फत आठ नहर अन्डरपास, नौ क्रस–ड्रेनेज संरचना तथा १५ नहर पार गर्ने पुल निर्माण र सुधार गरिएको थियो । संरचना जीर्ण बन्दा पानीको प्रवाह डिजाइन क्षमताको करिब ८० प्रतिशतमा सीमित हुनुका साथै चुहावट र संरचना भत्किने जोखिम बढेको अवस्थामा आयोजना सञ्चालन गरिएको थियो ।

जीर्णोद्धारपछि सिँचाइ हुने क्षेत्र करिब ५ हजार ५०० हेक्टरबाट बढाएर १० हजार ५०० हेक्टर पुर्‍याउने लक्ष्य राखिएको छ । त्यस्तै, वर्षे धानको उत्पादकत्व प्रतिहेक्टर ३.६५ टनबाट ४.३८ टन पुर्‍याउने लक्ष्यसमेत लिइएको छ । चन्द्र नहर सप्तरीको कृषि उत्पादन र खाद्य सुरक्षाका दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । त्रियुगा नदीमा आधारित यो प्रणाली जिल्लाको प्रमुख स्वदेशी जलस्रोतमा आधारित सिँचाइ आयोजना भएकाले यसको प्रभावकारिता र दिगोपना हजारौँ किसानको कृषि उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

Back To Top
Modern Footer Design