रसुवामा सल्यान कपुरकोटका १३ जना श्रमिक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको बाढीपछि सल्यानको कपुरकोट गाउँपालिकाबाट कामका लागि त्यहाँ पुगेका १३ जना श्रमिक सम्पर्कविहीन भएका छन्।

गाउँपालिकाले उनीहरूको खोजी तथा उद्धारमा सहयोग गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। गाउँपालिकाका अनुसार भदौ १० गते तिब्बततर्फबाट आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्‍याएको थियो। सोही क्रममा कपुरकोटबाट विभिन्न कामका लागि रसुवा पुगेका १३ जना हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन्। सम्पर्कविहीनमध्ये कपुरकोट गाउँपालिका–६ का ११ जना रहेका छन्। उनीहरूमा लक्ष्मण सार्की, मानबहादुर विक, लालबहादुर सार्की, रामबहादुर सार्की, तिलक सार्की, किरण विक, हिमलाल सार्की, प्रकाश सार्की, टेकबहादुर बस्नेत, दरीमान दमाई र दिलबहादुर सिंह रहेका छन्। सिंहको स्थायी घर सुर्खेत रहेको गाउँपालिकाले जनाएको छ।

त्यस्तै, कपुरकोट–५ का पातीराम महतारा र विशाल रोका पनि सम्पर्कविहीन छन्। उनीहरूको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको गाउँपालिकाले जनाएको छ। परिवारसँग समेत सम्पर्क हुन नसकेपछि गाउँपालिकाले खोजी तथा उद्धार कार्य तीव्र बनाउन आग्रह गरेको हो। गाउँपालिकाले रसुवा तथा आसपासका क्षेत्रमा रहेका सुरक्षा निकाय, स्थानीय बासिन्दा, सम्बन्धित कार्यालय र अन्य सरोकारवालालाई सम्पर्कविहीन १३ जनाको खोजीमा सहयोग गरिदिन अपिल गरेको छ। गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनद्वारा जारी सूचनामार्फत उनीहरूको सकुशल खोजी तथा उद्धारका लागि सबै पक्षसँग सहयोगको आग्रह गरिएको छ।

Back To Top
Modern Footer Design