बाढी–पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सडकसहित कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। काठमाडौँ प्रवेश तथा बाहिरिने प्रमुख मार्गका रूपमा रहेको नागढुंगा–मुग्लिन सडकखण्ड बाढीको जोखिमलाई मध्यनजर गर्दै भदौ १० गते बिहान १० बजेदेखि बन्द गरिएको छ। बागमती प्रदेशका अन्य प्रमुख सडकमा पनि जोखिमका कारण सवारी आवागमनमा समयअनुसार प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।

बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्रै यातायात सञ्चालन गर्न दिइने जनाइएको छ। त्यस्तै, कान्ति लोकपथअन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको उत्तरगया–५ खाल्टे क्षेत्रमा बाढीले सडकमा क्षति पुर्‍याएपछि मार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ। नुवाकोटतर्फ जाने टोखा–छहरे सडकखण्डमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्लाका अन्य केही प्रमुख सडकखण्डसमेत बाढी तथा पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैगरी, इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली क्षेत्रमा निरन्तरको वर्षाका कारण सडक अवरुद्ध भएको छ। झापाबाट ताप्लेजुङ जाने यात्रुका लागि भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। प्रहरीले वर्षा र बाढीपहिरोको जोखिम कायमै रहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सुरक्षालाई प्राथमिकतामा राख्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Back To Top
Modern Footer Design