काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण बाढी प्रभावित जिल्लाका खानेपानी तथा सरसफाइसम्बन्धी संरचनामा ठूलो क्षति पुगेको छ।
बाढीले खानेपानी आयोजना, इनार, पानी भण्डारण ट्याङ्कीलगायतका संरचनामा व्यापक क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार नुवाकोट, रसुवा, धादिङ र गोरखा गरी चार जिल्लामा मात्रै खानेपानीका भौतिक संरचनामा करिब ६४ करोड रुपैयाँ र सरसफाइसम्बन्धी संरचनामा करिब २९ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। यसरी हेर्दा चार जिल्लामा खानेपानी तथा सरसफाइ क्षेत्रमा कुल ९३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कमलराज श्रेष्ठले बाढीबाट यी चार जिल्लाका खानेपानी आयोजनाहरू विशेष रूपमा प्रभावित भएको जानकारी दिए। धादिङमा मात्रै त्रिशूली नदी आसपासका खानेपानी संरचनामा ठूलो क्षति पुगेको छ। विभागका अनुसार नदी किनारमा रहेका ६५ वटा ‘समवेल’ (इनार) इन्टेक र १११ वटा रिजर्भवायर ट्याङ्की बाढीका कारण क्षतिग्रस्त भएका छन्। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा खानेपानी सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब डेढ वर्षसम्म लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीले पुर्याएको क्षतिको विस्तृत मूल्याङ्कनपछि पुनर्निर्माणको वास्तविक लागत र समय अझ स्पष्ट हुने विभागले जनाएको छ।
