काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवाको टिमुरेमा रहेको एक विद्यालयको सम्पूर्ण संरचना बगाएको छ।
गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल राष्ट्रिय बेसिक स्कुल अहिले भग्नावशेषसमेत नरहने गरी क्षतिग्रस्त बनेको छ। विद्यालयका प्रधानाध्यापक फुर्पु दोर्जे घलेका अनुसार बाढीले चारतले विद्यालय भवनसहित त्यहाँ रहेका सबै संरचना बगाएको छ। उनका अनुसार अहिले विद्यालय रहेको स्थान मरुभूमिजस्तै देखिन्छ। कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा करिब ४० विद्यार्थी अध्ययनरत थिए। भदौ १० गते आएको बाढीपछि विद्यार्थीमध्ये कति जना सम्पर्कविहीन छन् भन्ने यकिन विवरण विद्यालयसँग छैन। प्रधानाध्यापक घलेका अनुसार हालसम्म सात जना विद्यार्थी सम्पर्कमा आएको जानकारी भए पनि उनले प्रत्यक्ष रूपमा दुई जनालाई मात्र भेटेका छन्।
बाढीले विद्यालयका शिक्षकहरूलाई समेत गम्भीर असर पारेको छ। विद्यालयमा कार्यरत १० जना कर्मचारीमध्ये ६ जना शिक्षक बाढी आएपछि सम्पर्कविहीन छन्। उनीहरू विद्यालय परिसरमै बस्दै आएका थिए। सम्पर्कविहीन शिक्षकहरूमा रामचन्द्र विक, सन्तोष श्रेष्ठ, हिमानसिंह तामाङ, कविता न्यौपाने, सोनाम बुथितामाङ र कान्छी तामाङ रहेका छन्। उनीहरूलाई बाढीले बगाएको हुन सक्ने आशंका गरिए पनि हालसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन।
बाढी आउँदा प्रधानाध्यापक घले पनि टिमुरेमै थिए। उनका अनुसार एक्कासि ठूलो आवाज आएपछि झ्यालबाट हेर्दा बाढीको ठूलो छाल बस्ती पसिरहेको देखिएको थियो। त्यसपछि उनी र उनकी श्रीमती हतारमा भागेर ज्यान जोगाउन सफल भएका थिए। घलेका अनुसार टिमुरेमा उनका आफन्त र चिनजानका मात्रै १५० भन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन्। बाढीपछि उनी आफै पनि उद्धार भएर धुन्चे हुँदै नुवाकोटको बट्टार र त्यसपछि काठमाडौं पुगेका हुन्। हाल उनीसहित बाढी प्रभावितहरू काठमाडौंको स्वयम्भूस्थित यल्लो गुम्बामा आश्रय लिएर बसिरहेका छन्। त्यहाँ ५०० भन्दा बढी प्रभावित रहेको उनले बताएका छन्।
गुम्बामा आफ्नो विद्यालयका दुई विद्यार्थी पनि उद्धार भएर आएको उनले बताए। अन्य विद्यार्थीको अवस्था भने अझै यकिन हुन सकेको छैन। बाढीबाट जोगिएका कतिपय विद्यार्थीले समेत आफ्ना परिवारका सदस्य गुमाएको प्रधानाध्यापक घलेले जानकारी दिएका छन्। टिमुरेमा विद्यालय नै नरहने गरी भएको क्षति र शिक्षक तथा विद्यार्थीको अवस्थाबारे अझै स्पष्ट जानकारी नआउनुले बाढीको मानवीय क्षतिको गम्भीरता थप उजागर गरेको छ। विद्यालयसँग सम्बन्धित बेपत्ता शिक्षक तथा विद्यार्थीको तत्काल खोजी र उद्धार गर्न स्थानीय तथा सम्बन्धित निकायसँग माग गरिएको छ।
