ड्रोन तस्बिर सार्वजनिक गर्दै चीनले भन्यो– हिमचट्टान भत्किने जोखिम अझै टरेको छैन

काठमाडौँ । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर आसपासका हिमचट्टान अझै भत्किन सक्ने जोखिम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

हिमचट्टान भत्किएमा त्यसबाट थप ठूलो जोखिम निम्तिन सक्ने भन्दै मन्त्रालयले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीसँग सम्बन्धित सम्भावित जोखिमबारे चिनियाँ जलस्रोत मन्त्रालयले निरन्तर मूल्याङ्कन गरिरहेको छ। मन्त्रालयले सम्भावित जोखिमको अवस्था बुझ्न विज्ञहरूसँग परामर्श गर्नुका साथै प्रभावित क्षेत्रको नियमित अनुगमन गरिरहेको जनाएको छ। यसै क्रममा १ सेप्टेम्बर २०२६ को बिहान खिचिएको ड्रोन तस्बिर सार्वजनिक गर्दै सीसीटीभीले नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटर आसपासको अवस्थालाई देखाएको छ।

उक्त क्षेत्रका हिमचट्टानमा अझै अस्थिरता रहन सक्ने भएकाले जोखिम पूर्ण रूपमा हटिनसकेको जनाइएको छ। यद्यपि, रिमोट सेन्सिङ तस्बिरको पछिल्लो तुलनात्मक विश्लेषणले ग्यिरोङ साङ्पो नदी बेसिनमा पहिचान भएका १४ वटा हिमतालको अवस्थाबारे भने तत्काल कुनै ठूलो परिवर्तन नदेखिएको जनाएको छ। विश्लेषणअनुसार ती हिमतालहरूको जलसतहमा उल्लेखनीय परिवर्तन आएको छैन र समग्रमा ती स्थिर अवस्थामा रहेका छन्। चिनियाँ पक्षले भने हिमचट्टान तथा हिमनदीसँग सम्बन्धित सम्भावित जोखिमलाई ध्यानमा राख्दै अवस्थाको अनुगमन र मूल्याङ्कनलाई निरन्तरता दिइरहेको जनाएको छ।

Back To Top
Modern Footer Design