विराटनगर । श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठकमा नेता सुदन किरातीसहित उनको समूहलाई नबोलाइएको गुनासो गरिएको छ।
धरानस्थित होटल गोर्खामा मंगलबारदेखि सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ। पार्टीमा करिब चार महिनाअघि मात्र समाहित भएको किराती समूहलाई बैठकमा औपचारिक रूपमा निमन्त्रणा नगरिएको उनका सहयोगी नवीन मास्केले बताएका छन्। मास्केका अनुसार पार्टी एकतापछि बनेको पहिलो केन्द्रीय बैठकमा किराती पक्षलाई जानकारीसमेत दिइएको छैन। निमन्त्रणा नआएपछि किराती आफ्ना समूहका नेताहरूसँग छुट्टै छलफलमा रहेको उनले बताए।
यता, श्रम संस्कृति पार्टीका नेता राजन राईले भने बैठकको पहिलो दिन एकता प्रक्रियालाई अनुमोदन गर्ने र दोस्रो दिन संयुक्त बैठक बस्ने तयारी रहेको दाबी गरेका छन्। उनका अनुसार किराती समूहलाई दोस्रो दिनको बैठकमा सहभागी गराउने योजना छ। तर किरातीको सचिवालयले भने दोस्रो दिनको बैठकमा आफूहरूलाई बोलाइएकोबारे कुनै जानकारी नरहेको जनाएको छ। सुदन किराती नेतृत्वको समूह केही समयअघि श्रम संस्कृति पार्टीमा समाहित भएको थियो। एकतापछि पार्टीको २३ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी ४१ सदस्यीय बनाइएको थियो। एकताका क्रममा किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो भने उनको पक्षबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जनालाई जिम्मेवारी दिइएको थियो। तर पहिलो केन्द्रीय कमिटी बैठकमा भने किराती पक्षका कुनै पनि नेतालाई आमन्त्रण नगरिएको गुनासो आएको हो।
