काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार मंगलबार बिहान ९ बजेसम्म रसुवासहित विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेका हुन्। प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ वटा शव फेला परेका छन्।
बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कमा आउन सकेका छैनन्। प्राधिकरणका अनुसार ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्।त्यस्तै, बाढी तथा त्यसपछिको विपद्का घटनामा २७९ जना घाइते भएका छन्। उद्धार कार्य भने जारी रहेको छ। हालसम्म ११ हजार ८१४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको प्राधिकरणले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायले खोजी, उद्धार र राहतको कामलाई निरन्तरता दिइरहेका छन्।
