काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा दलको तर्फबाट धारणा राख्दै प्रचण्डले विपद्को समयमा संसद्मा सम्बोधन गर्नु सकारात्मक भए पनि प्रधानमन्त्रीले अन्य दल तथा आफ्नै सांसदहरूलाई समेत पर्याप्त रूपमा विश्वासमा लिन नसकेको टिप्पणी गरे। उनले विगतका अनुभव र सुझावलाई समेत समेटेर अघि बढ्नुपर्नेमा त्यसतर्फ सरकारको पर्याप्त ध्यान नपुगेको बताए। संसद्लाई विश्वासमा लिनु भनेको प्रतिपक्षलाई मात्र होइन, आफ्नै दलका सांसदलाई समेत साथमा लिएर अघि बढ्नु भएको उनको भनाइ थियो।
प्रचण्डले भने, ‘प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहारसमेत नहेरी फर्किनुहुन्छ। यो कस्तो तरिका हो? प्रधानमन्त्री भनेको सबैको हो। सरकारलाई सबैले सहयोग गर्न तयार छन्।’ उनले विपद्को अवस्थामा राजनीतिक पक्षभन्दा माथि उठेर सबै दल, सांसद र सम्बन्धित पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिए।
