सुरुङमा फसेकाको उद्धारमा ढिलाइप्रति आङ्देम्बेको प्रश्न, भने– ‘अमानवीय र गम्भीर विषय’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले विपद्का बेला सुरुङभित्र फसेका नागरिकको खोजी तथा उद्धारमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले यस्तो ढिलाइलाई अमानवीय र गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले अझै पनि विभिन्न जिल्लाका हजारौँ नागरिक सम्पर्कविहीन रहेको विवरण आउनु चिन्ताजनक भएको बताए। उनले ६२ जिल्लाका ३ हजार ९ सय १६ जना नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको जानकारी दिँदै यो संख्या अझै बढ्न सक्ने बताए। उनका अनुसार विपद्पछि सबैभन्दा प्राथमिकतामा खोज तथा उद्धारलाई राखिनुपर्ने अवस्था छ। विशेषगरी सुरुङभित्र फसेका नागरिकको उद्धारमा भइरहेको ढिलाइप्रति उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए।

आङ्देम्बेले उद्धार कार्य सुरुदेखि नै तीव्र बनाउन सरकारी संयन्त्रसँगै निजी क्षेत्रका स्रोतसाधनसमेत परिचालन गर्नुपर्ने बताए। आवश्यक परे अन्तर्राष्ट्रिय प्रविधि र दक्ष जनशक्तिको सहयोग लिएर भए पनि उद्धारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ। उनले विपद्को समयमा समयमै उद्धार हुन नसक्दा मानवीय क्षति थपिन सक्ने भन्दै सरकारलाई उपलब्ध सबै साधन र जनशक्ति प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरे।

Back To Top
Modern Footer Design