काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका क्रममा आफ्नो प्रत्यक्ष भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्।
उनले नेतृत्वको मूल्यांकन आफू कहाँ बसेर काम गरिरहेको छु भन्ने आधारमा नभई प्राप्त परिणामबाट गर्न आग्रह गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने परम्परागत शैलीलाई नेतृत्वको मापदण्ड मान्ने सोच अहिलेको समयमा उपयुक्त नभएको बताएका छन्। उनले भनेका छन्, ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप)।’
गृहमन्त्रीका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू सहभागी रहेको विपद् प्रतिकार्य कमान्ड सेन्टरबाट उद्धार तथा विपद् व्यवस्थापनका काम निरन्तर सञ्चालन भइरहेका छन्। उनका अनुसार अनलाइन माध्यमबाट हरेक चार घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठक हुँदै आएको छ। गुरुङले फिल्डको वास्तविक अवस्था नबुझी कार्यालयको कुर्सीबाट मात्रै नेतृत्व गर्ने पुरानो अभ्यासका कारण विगतमा अपेक्षित परिणाम आउन नसकेको दाबी गरेका छन्।
‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ,’ उनले लेखेका छन्। डिजिटल प्रविधिको प्रयोगबाट प्रशासनिक निर्णय तथा उद्धारसम्बन्धी समन्वयलाई थप छिटो र प्रभावकारी बनाउन सकिने उनको भनाइ छ। उनले अहिलेको कार्यशैली परम्परागत रूपमा कार्यालयमै बसेर निर्देशन दिनेभन्दा फरक रहेको बताएका छन्। आलोचनाको जवाफ दिँदै गृहमन्त्री गुरुङले भनेका छन्, ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु।’ रसुवाको भोटेकोशीमा आएको बाढीपछि सञ्चालन भइरहेको खोज तथा उद्धार अभियानका क्रममा गृहमन्त्रीको प्रत्यक्ष उपस्थिति र कार्यशैलीलाई लिएर विभिन्न राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा प्रश्न उठिरहेका बेला उनको यस्तो धारणा सार्वजनिक भएको हो।
