रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान नेपाल ल्याइँदै

रसुवा। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवागढी क्षेत्रका सडक र पुलसहितका भौतिक संरचना बगाएपछि चीनको केरुङमा रोकिएका व्यापारिक सामान वैकल्पिक नाका हुँदै नेपाल ल्याउन थालिएको छ।

रसुवागढी नाका तत्काल सञ्चालनमा आउन समय लाग्ने देखिएपछि केरुङका गोदाममा रहेका ४०० भन्दा बढी कन्टेनरमा राखिएका सामान मुस्ताङको कोरला नाका हुँदै नेपालतर्फ ढुवानी गर्न थालिएको हो। ‘मुसा ट्रान्सपोर्ट’का अनुसार वैकल्पिक सडकमार्ग प्रयोग गरेर सामान ढुवानीको काम सुरु भइसकेको छ। ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङले चाडपर्व नजिकिँदै गर्दा बजारमा आवश्यक सामान समयमै पुर्‍याउन छोटो वैकल्पिक मार्गबाट ढुवानीलाई तीव्रता दिइएको बताए।

उनका अनुसार भोटेकोशी बाढीले रसुवागढी हुँदै काठमाडौँ जोड्ने सडकमार्गमा ठूलो क्षति पुर्‍याएकाले पुरानो मार्ग तत्काल सहज हुने अवस्था छैन। बाढीका क्रममा रसुवागढी–त्रिशूली सडकखण्डमा रहेका केही कन्टेनरसमेत बगेका थिए। ज्याङका अनुसार उनको परिवारको पुरानो व्यापारिक सम्बन्ध तिब्बतसँग रहँदै आएको छ। हाल उनी सिगात्सेमा रहेर नेपाली व्यापारीका सामान चीनको सीमावर्ती क्षेत्रसम्म ढुवानी गर्ने काम गर्दै आएका छन्।

Back To Top
Modern Footer Design