अहिलेसम्मकै सानो टोलीसहित संयुक्त राष्ट्रसंघको महासभामा जाँदै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तयारीमा छन्।

उनको भ्रमणका लागि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले आवश्यक तयारी अघि बढाइरहेका छन्। सरकारले भ्रमणको औपचारिक घोषणा भने गरिसकेको छैन। तर, परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाह यसपटक विगतका तुलनामा निकै सानो टोलीसहित अमेरिका जाने तयारीमा छन्। उनको टोलीमा करिब १० देखि ११ जना मात्र सहभागी हुने बताइएको छ।

प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिव सुभाष शर्मा र प्रदीप पजियार, फोटोग्राफर विनय शाक्य तथा शिष्टाचार प्रमुख रहने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। त्यस्तै, परराष्ट्रमन्त्री खनालको टोलीमा मन्त्रालयका सचिव अमृतबहादुर राई, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, राष्ट्रसंघ मामिला हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल सहभागी हुनेछन्। महासभामा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। सम्बोधन हुनुभन्दा एक–दुई दिनअघि अमेरिका पुग्ने र सम्बोधनलगत्तै नेपाल फर्किने गरी भ्रमणको तयारी भइरहेको छ। यद्यपि, भ्रमणको अन्तिम मिति र सहभागीको सूची भने अझै टुंगिन बाँकी रहेको मन्त्रालयले जनाएको छ। यसअघि संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १२ सदस्यीय टोलीसहित सहभागी भएका थिए। ७९औँ महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय टोली अमेरिका गएको थियो।

८०औँ महासभाका बेला नेपालमा जेनजी आन्दोलन चर्किएका कारण उच्चस्तरीय टोली जान सकेन। त्यसबेला राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले नेपाली टोलीको नेतृत्व गरेका थिए। यसपटक सुरुमा परराष्ट्रमन्त्रीले नै महासभामा नेपालको प्रतिनिधित्व गर्ने तयारी थियो। तर, भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको हिमबाढीपछि प्रधानमन्त्री शाह आफैँ महासभामा जाने तयारीमा अघि बढेका हुन्। महासभामा प्रधानमन्त्रीस्तरबाटै नेपालको प्रतिनिधित्व हुँदा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद् र त्यसबाट परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउन थप प्रभावकारी हुने सुझाव आएपछि शाह अमेरिका जान तयार भएको बताइएको छ। विशेषगरी पछिल्लो समय नेपालमा देखिएका बाढी, पहिरो तथा हिमबाढीजस्ता विपद्लाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको धारणा राख्ने तयारी प्रधानमन्त्रीको रहेको बताइएको छ।

Back To Top
Modern Footer Design