भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएका २० जनालाई उपचारका लागि वीर अस्पताल ल्याइएकोमा १७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार बाढीबाट घाइते भएका २० जनालाई उद्धार गरी अस्पताल ल्याइएको थियो। उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि १७ जनालाई घर पठाइएको हो। अस्पतालमा अझै तीनजना उपचाररत छन्। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको निर्देशक डा. नेपालले जानकारी दिए। बाढीका कारण घाइते भएका तथा अझै सम्पर्कमा आउन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक जानकारी उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ।

सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिनुका साथै सम्पर्कविहीन आफन्तको विवरण टिपाउने काम भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिन आफन्तहरू अस्पताल पुग्ने क्रम जारी छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणका काम पनि निरन्तर सञ्चालन भइरहेका छन्। उद्धार गरिएका घाइतेको उपचार तथा उनीहरूका परिवारसँग समन्वय गर्न सम्बन्धित निकायले आवश्यक सहजीकरण गरिरहेको जनाइएको छ।

Back To Top
Modern Footer Design