काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वको तापक्रम लगातार बढिरहेकाले नेपालजस्ता हिमाली मुलुकमा यसको असर झन् गम्भीर बन्दै गएको बताएका हुन्। उनले जलवायु परिवर्तनका कारण हिमाली तथा पर्यावरणीय क्षेत्रमा जोखिम बढिरहेको भन्दै प्रभावित देशहरूको आवाजलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने बताए।
राष्ट्रपति पौडेलले नेपालले पछिल्ला वर्षहरूमा भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्दै आएको पनि स्मरण गरे। यस्ता कठिन परिस्थितिमा नेपाली नागरिकले धैर्य, साहस र दृढताका साथ सामना गर्दै आएको उनको भनाइ थियो। उनले पछिल्लो विपत्तिले नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तनको प्रभावप्रति कति संवेदनशील छ भन्ने देखाएको बताए।
साथै, जलवायु परिवर्तनबाट बढी प्रभावित तर त्यसमा कम योगदान भएका नेपालजस्ता देशलाई अन्तर्राष्ट्रिय स्तरबाट सहयोग र न्याय दिनुपर्नेमा उनले जोड दिए। राष्ट्रपति पौडेलले नेपाललगायत जलवायु परिवर्तनबाट प्रभावित देशहरूको आवाज सुन्न मात्र नभई उनीहरूका लागि ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्।
